सलम्बु, काठमाडौं – २०७९ साउन ३ गते, सरोकार केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आज सलम्बुमा भव्यरूपमा सम्पन्न भएको छ। पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष गोविन्द पन्थीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, निवर्तमान नगरप्रमुख सुवर्ण श्रेष्ठ, समाजसेवी निरञ्जन पुडासैनी लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

सामाजिक सेवा र वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीहरूको उद्धार अभियान सञ्चालन गरी उदाहरणीय भूमिका निर्वाह गरेका युवा समाजसेवी ज्ञानेन्द्र गुरुङलाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो। उनीद्वारा प्रवासमा नेपालीहरूलाई सुरक्षितरूपमा स्वदेश फिर्ता गराउने कार्यलाई सरोकार केन्द्रले प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वको प्रेरणाको रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रममा दुव्र्यसन, मानव बेचबिखन, साइबर क्राइम लगायतका सामाजिक अपराधविरुद्ध चेतना जगाउने उद्देश्यले बिहानै प्रभातफेरी समेत आयोजना गरिएको थियो। स्थानीय बासिन्दा, युवाहरू, विद्यार्थी, सुरक्षाकर्मी र सरोकारवाला निकायको सहभागितामा प्रभातफेरीले सामाजिक अपराध विरुद्धको आवाज बुलन्द बनाएको थियो।

कार्यक्रम सञ्चालन केन्द्रका महासचिव जीवन शर्मा खनालले गर्नु भएको थियो।

कार्यक्रममार्फत समाजमा बढ्दो अपराध, लत, प्रविधिसम्बन्धी गलत प्रयोग र आपराधिक गतिविधिहरू विरुद्ध सामूहिक चेतना आवश्यक रहेको सन्देश दिइएको थियो।

कार्यक्रमको समापनमा सरोकार केन्द्रले यस्ता सामाजिक अन्तर्क्रिया र सचेतनामूलक गतिविधिलाई निरन्तरता दिँदै, सबै निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनायो।