राप्ती सोनारी गाउँपालिका–५ चाचरफर्काकी २४ वर्षीया सपना थारु टिकटक भिडियो बनाउन निस्किएकी थिइन्। तर रमाइलोको त्यो क्षण नै उनको जीवनको अन्तिम बन्न पुग्यो।
साँझ करिब पाँच बजेतिर उनी आमासँगै नजिकैको “भाइरल पुल” तर्फ टिकटक भिडियो खिच्न गएकी थिइन्। त्यही क्रममा बिनौना तर्फबाट आएको बा.१७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भइन्। तत्कालै उपचारका लागि नेपालगञ्ज हुँदै लखनउ लैजाने तयारी भइरहेको बेला बाटोमै उनको मृत्यु भयो।
चार वर्षअघि सपनाले सल्यानकी सरदना नगरपालिकाका भर्ति मगरसँग विवाह गरेकी थिइन्। उनका श्रीमान् हाल परदेशमा श्रम गर्न गएका छन्। श्रीमतीको अन्तिम रूप पनि देख्न नपाई उनी गहिरो शोकमा छन्। परिवारका सबै सदस्यहरू अझै अविश्वासमा छन्।
स्थानीयका अनुसार, राप्ती माडी क्षेत्रको “भाइरल पुल” पछिल्ला वर्षहरूमा टिकटक बनाउन लोकप्रिय स्थान बनेको छ, जहाँ दैनिक बालबालिका देखि युवा–युवतीसम्म भिड लाग्ने गर्छ। तर यही रमाइलो कहिलेकाहीँ दुःखद घटना बन्ने गरेको स्थानीयवासीहरूको गुनासो छ।
प्रहरीका अनुसार, ठक्कर दिने मोटरसाइकल चालक रामकुमार थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
स्थानीय एक बासिन्दाले भने —
> “हिजोमात्र खुशीसाथ टिकटक बनाउँदै थिइन्, आज उनी घरमा छैनिन्। आमा रोइरहेकी छन्, श्रीमान् परदेशमा आँसु झारिरहेका छन्।”