काठमाडौं, २३ भदौ । नेपालमा जारी Gen Z आन्दोलन र त्यसमा भएका रक्तपातपूर्ण दमनप्रति अमेरिका निवासी युवा व्यवसायी लोकनाथ अधिकारीले गहिरो पीडा व्यक्त गरेका छन्। सात समुन्द्रपारी बसेर पनि मातृभूमीको अवस्था देख्दा आँसु रोक्न नसकेको उनले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्।
अधिकारीले लेखेका छन्, “सात समुन्द्रपारीबाट जन्मभूमी रगतले लतपतिएको देख्दा मन भक्कानिएको छ। जेनजी पुस्ताले उठाएको कुरा नाजायज थिएनन्। भ्रष्टाचारमुक्त, शुसासन र सामाजिक न्याय सहितको समृद्ध नेपाल उनीहरूको माग थियो। तर मागको सुनुवाईको साटो निधारमा रगतको कलंकको टिका लगाएका छन् सिंहदरबार बस्नेहरूले।”
उनले सत्ता र शक्तिमा आसक्त शासकहरूको कठोर आलोचना गर्दै प्रश्न उठाएका छन्, “अझैपनि हठ नछाड्ने शासकहरूले कति निहत्था किशोर–किशोरीको रगत होली खेलेपछि चेत खुलाउँछन् होला?”
देशप्रतिको आस्था र श्रद्धा प्रकट गर्दै अधिकारीले अन्त्यमा भनेका छन्, “पशुपतिनाथ, देशको रक्षा गर।”
विदेशमा व्यवसाय सञ्चालन गर्दै आएका अधिकारीले मातृभूमीको भविष्यका लागि Gen Z युवाहरूले अघि सारेको मागलाई न्यायोचित ठहर गर्दै समर्थन जनाएका छन्। उनीका अनुसार, यो आन्दोलन कुनै दल विशेषको नभई सम्पूर्ण नेपालीको भविष्य र पवित्र उद्देश्यसँग जोडिएको छ।
विश्लेषकहरूका अनुसार, प्रवासी नेपाली समुदायबाट आउने यस्ता तीव्र प्रतिक्रियाहरूले नेपालको राजनीतिक नेतृत्वलाई थप दबाबमा पारिरहेको छ। अधिकारीजस्ता युवा व्यवसायीको पीडाभावपूर्ण अभिव्यक्ति नेपालप्रतिको गहिरो माया र युवापुस्ताप्रतिको ऐक्यबद्धताको उदाहरण बनेको छ।