अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC-USA) को आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनको माहोल तातेसँगै, कोषाध्यक्ष पदका उम्मेदवार महेन्द्र बस्नेत चर्चाको केन्द्रमा रहेका छन्।
आगामी अगस्ट १६/१७ मा हुने भनिएको निर्वाचनमा बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गर्दै, संस्थालाई अझ मजबुत बनाउन र आर्थिक पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुधारलाई प्राथमिकता दिने संकल्प प्रस्तुत गरेका छन्।
बस्नेतले यसअघि २०२३–२०२५ कार्यकालमा प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेको भन्दै, निरन्तरता सहित अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेका छन्। समुदायमा आर्थिक नीतिहरू पारदर्शी बनाउन, सदस्यता व्यवस्थापनलाई व्यवस्थित गर्न र अमेरिका भरका नेपालीहरूको कर–सम्बन्धी तथा आर्थिक सुझावलाई संस्थागत ढंगले सम्बोधन गर्ने योजना उहाँले अघि सारेका छन्।
समर्थकहरूको भनाइमा, “महेन्द्र बस्नेतको कार्यशैली पारदर्शी, जिम्मेवार र परिणाममुखी छ। उनले पाएको विश्वास नै उनको जित सुनिश्चित हुने मुख्य आधार हो।”
अमेरिकाभरका नेपाली समुदायलाई आह्वान गर्दै बस्नेतले भनेका छन् —“संस्थालाई अझ मजबुत बनाउन तपाईंहरूको अमूल्य मत, सल्लाह र सुझावको अपेक्षा गर्दछु।”चुनावी समीकरण हेर्दा, कोषाध्यक्ष पदमा बस्नेतको जित नजिक भएको विश्लेषण भइरहेका छन्।