“एक पटकको नेपाली, सँधैको नेपाली” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आगामी कार्यकाल २०२५–२०२७ का लागि उपाध्यक्ष पदमा कविता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
दशौँ अधिवेशनलाई भव्यता र भव्य सहभागिताको साथ सम्पन्न पार्दै, एनआरएनए हङकङले अब नेतृत्वको नयाँ पुस्तालाई सुम्पिने तयारी गरिरहेको छ। यस्तै महत्वपूर्ण घडीमा अनुभवी, कर्मठ र जनसमर्पित व्यक्तित्वका रूपमा पहिचान बनाएकी कविता गुरुङको उपस्थिति अत्यन्त उत्साहजनक र प्रेरणादायी बनेको छ।

कविता गुरुङ दीर्घकालदेखि प्रवासी नेपालीहरूको हकहित, महिला सशक्तीकरण, सामाजिक न्याय र समावेशिताको पक्षमा निरन्तर लागिपरेकी एक प्रभावशाली अभियन्ता हुन्। उनको उम्मेदवारी मात्र पदका लागि नभई, एनआरएनए हङकङलाई पारदर्शी, सहभागी र जनउत्तरदायी संस्थाको रूपमा पुनःस्थापित गर्ने अठोट हो।
उनले सार्वजनिक रूपमा मतदाताहरूलाई सम्बोधन गर्दै भनिन्,
“म एनआरएनए हङकङलाई समावेशी, उत्तरदायी र जनतासँग जोडिएको संस्था बनाउने संकल्पका साथ उम्मेदवार भएकी हुँ। म तपाईंहरूको साथ र भरोसाको अपेक्षा गर्छु।”
प्रवासी नेपाली समुदायको हितमा लगातार सक्रिय गुरुङले विगतमा शिक्षा, आपत्कालीन राहत, स्वास्थ्य तथा नेपाली संस्कृति प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएकी छन्। महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धिमा उनले खेलेको भूमिकाले उनलाई हङकङका नेपाली समाजमा लोकप्रिय बनाएको छ।
उनको अभियानले नारा दिएको छ – “सबल, सक्षम र समर्पित एनआरएनए”। यही नारालाई आत्मसात् गर्दै, अभियान टोलीले मतदाताहरूलाई अत्यधिक मत दिन आग्रह गर्दै कविता गुरुङलाई उपाध्यक्ष पदमा विजयी गराउन अपिल गरेको छ।
अबको नेतृत्व परिवर्तन केवल अनुहारको मात्र नभई भावनात्मक र उद्देश्यपूर्ण रूपान्तरण हुने संकेत देखिँदैछ। कविता गुरुङको उम्मेदवारीले एनआरएनए हङकङको भावी मार्गचित्र थप स्पष्ट र भरोसायोग्य बनाउने विश्वास गरिएको छ।