शहीद लखन गाउँपालिका, गोरखा ।१७ वर्षसम्म अष्ट्रेलियामा रहेर सम्पन्न जीवनयापन गर्दै आएका सामाजिक अभियन्ता शिव बन्जारा आखिर आफ्नै माटोको मायाले तानिए। आत्मसुखभन्दा मातृभूमिको सेवा ठूलो ठानेर, उनी अष्ट्रेलियाको चम्किलो जीवनशैलीलाई छाड्दै अब स्थायी रूपमा गोरखाको शहिद लखन गाउँपालिकामा फर्किएका छन्।
गाउँले बालापन, गाउँको माया, आमाबुबाको सपना र देशप्रतिको कर्तव्य संगै यी सबै सम्झनाहरूले उनलाई गहिरो रूपमा छोएको छ। गाउँका लुकेका पीडा र सम्भावनाहरू देख्दा शिव बन्जाराले मनमनै अठोट गरे “अब फर्कनुछ, आफ्नै माटोमा मिल्नुछ।”
गाउँ फर्किने निर्णय : सामान्य होइन, अभियानको सुरुआत
सामान्यतया युवा विदेशतर्फ लागिरहेका बेला, शिव बन्जाराको यो उल्टो यात्रा आफैँमा उदाहरणीय छ। “गाउँको विकासबिना देश बन्न सक्दैन” भन्ने सोचका साथ उनी फर्किएका हुन्। उनी भन्छन्, “१७ वर्ष अष्ट्रेलियामा रहेर धेरै कुरा सिके—शिक्षा, अनुभव, आर्थिक साधन आदी। अब ती सबै प्रयोग गरेर आफ्नो गाउँ शहिद लखनलाई नेपालकै उत्कृष्ट गाउँपालिका बनाउने सपना बोकेर आएको हुँ।”
अन्तर्राष्ट्रिय अनुभव, स्थानीय परिवर्तन
शिवले अष्ट्रेलियामा बस्दा सामुदायिक विकास, शिक्षा सुधार, र प्रविधिमा आधारित व्यवस्थापनमा ठूला परियोजनाहरूमा काम गरेका थिए। अब उनले त्यही अनुभवलाई गाउँमा लघु उद्योग, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमशीलता र शिक्षा सुधारमा लगाउने घोषणा गरेका छन्।
सामाजिक सेवामा पहिलेदेखि सक्रिय
गाउँ–परदेश दुवैतिर समाजसेवामा संलग्न शिव बन्जारा अष्ट्रेलियामा रहेका नेपाली समुदायका बीच लोकप्रिय थिए। विपद् राहत, छात्रवृत्ति, ग्रामीण अस्पतालका लागि सहयोग, शिक्षा सामग्री वितरण जस्ता काम उनले लामो समयदेखि गर्दै आएका छन्।
शिव बन्जाराको यो साहसी निर्णय र समर्पणले ‘गाउँ फर्कने’ यात्रालाई केवल व्यक्तिगत भावनाको विषय मात्र होइन, सामूहिक परिवर्तनको अभियान बनाएको छ।गाउँ छोड्ने होइन, गाउँ बनाउने समय आएको छ। शिव बन्जारा यही सन्देश लिएर गाउँ फर्किएका छन्—नेपाली माटोको माया बोकेर, कर्म र सपनासहित फर्केका छन् शिव बन्जारा।