मनाङको उकाली ओराली, चिसो हावापानी र कठिन जीवनशैलीमा हुर्किएर विश्वमै नेपाली नारीको नाम उच्च पार्न सफल भएकी एक नाम हो — लक्ष्मी लामा गुरुङ। नेपाली समाजका लागि नारी नेतृत्व, सेवाभाव, साहस र आदर्शको पर्याय बनेकी लक्ष्मी गुरुङ सन् 1995 देखि दक्षिण कोरियामा आफ्नो कर्मभूमि बनाएर समाजसेवामा समर्पित छिन्। उनको जीवन कथा केवल व्यक्तिगत संघर्षको दस्तावेज मात्र होइन, विश्वभर छरिएका नेपाली नारीका लागि प्रेरणा र सम्भावनाको इतिहास हो।
प्रारम्भिक यात्रा: जब समाजसँग विद्रोह गरिन्
जब उनी कोरिया जाँदै थिइन्, त्यो बेला गाउँघरमा युवतीले विदेश जाने कुरा कल्पनातीत थियो। गाउँले, आफन्त र परिवारले “केटी मान्छे भएर विदेश?” भन्दै आलोचना गर्थे। तर लक्ष्मीभित्र समाज परिवर्तन गर्ने आगो सल्किसकेको थियो। उनको मनमा थियो — महिला र पुरुषको भेदभावको अन्त्य गरौं, अनि केही फरक गरौं। सबैले “नगर” भनेकै काम गरेर आफूलाई प्रमाणित गर्न उनी दृढ थिइन्। यही दृढताले उनीलाई कोरिया ल्यायो, जहाँबाट सुरु भयो—सेवाको अन्तहीन यात्रा।
जब कोरियामा नेपाली थिए दुर्लभ
लक्ष्मी गुरुङ कोरिया आइपुगेको शुरुआती समय एकदमै कठिन थियो। कोरियालीहरूले नेपाल सुनेका थिएनन्। “नेपाल कहाँ पर्छ? घर छ कि छैन त्यहाँ? पानी पर्छ कि नपर्छ?” भन्ने प्रश्नहरू सुन्दा उनी चकित हुन्थिन्। त्यो बेला कोरियामा नेपाली समुदाय विरलै मात्र थियो, र त्यो सानो समुदायभित्र पनि आपसी सद्भाव र सहकार्यको अनुपम उदाहरण थियो।
त्यतिबेला “नेपाली सम्पर्क समिति” र “नेपाल बौद्ध परिवार (छबेई चिव)” मात्र थिए। सबै नेपालीहरूबीच पारिवारिक भावना थियो। बिरामी, मर्दापर्दा, चाडपर्व—सबै सँगै मनाउने, सँगै दुखसुख बाँड्ने चलन थियो।
सामाजिक नेतृत्वमा उत्कर्ष
कोरियामा लक्ष्मी गुरुङ सामाजिक अभियानमा पनि अग्रपंक्तिमा रहिन्। उनले नेपाली सम्पर्क समितिमा सदस्यदेखि सचिवसम्मका जिम्मेवारीहरू निर्वाह गरिन्। बिरामी नेपालीहरूका लागि अस्पताल, अदालत, थानामा दौडिनु त उनको दैनिक क्रियाकलाप जस्तै थियो। लास व्यवस्थापनदेखि उद्धार अभियानसम्म उनले अगुवाइ गरिन्।
उनी भन्छिन्, “धेरैजसो महिलाहरू कोरियालीसँग विवाह गरेर आउँथे। उनीहरू घरेलु हिंसाको शिकार हुन्थे। हामीले प्रहरी, प्रशासन, अदालतमा पुगेर आवाज उठायौं। पीडित बहिनीहरूलाई मेरो घरको बैठक कोठामा सुताउँथे।” यो कार्य उनी एक समाजसेवी मात्रै नभई एक अभिभावक थिइन् भन्ने प्रमाण हो।
“ई–पिस” प्रणालीपछि जनसंख्या वृद्धि र सेवा विस्तार
सन् 2008 मा ई–पिस प्रणाली लागू भएपछि १५ राष्ट्रबाट आप्रवासी श्रमिकहरू कोरियामा भित्रिन थाले। नेपाली समुदाय ह्वात्तै बढ्यो। भासाको समस्या, कानुनी अज्ञानता, अस्थायी कामको अनिश्चितता—यी सबै समस्याका बिचमा लक्ष्मी गुरुङ सहयोगको भरपर्दो टेको बनिन्। उनी इमिग्रेशन कार्यालयमा अनुवादक (दोबासे) बनिन्, जहाँबाट सुरु भयो उनको ‘टर्निङ प्वाइन्ट’।
शनिबार आइतबारको दिन पसल चलाउने, बाँकी दिनहरूमा इमिग्रेशन कार्यालयमा गएर परामर्श दिनु—उनी आफैं भन्छिन्, “त्यति बेला बिरामी भएर बास नपाएर सडकमै बिताएका थुप्रै नेपाली देखेका छु। सकेको सहयोग गर्थेँ। मैले बाँडेका सल्लाह र भावनाले नै मलाई जीवनको अर्थ बुझायो।”
एनआरएनएको नेतृत्व र राष्ट्रिय पहिचान
थुप्रै वर्षको समाजसेवापछि नेपालीहरूले उनलाई सम्मानपूर्वक एनआरएनए (गैरआवासीय नेपाली संघ) को अध्यक्ष बनाइदिए। उनी अध्यक्ष मात्र होइनन्—संघको आत्मा, प्रवाह, र उदाहरणीय इतिहास हुन्।
लक्ष्मी गुरुङको भनाइमा, “हामीजस्ता पुराना पुस्ताले जे जति गरे, अब नयाँ पुस्ताले त्यसलाई अगाडि बढाउने हो। अहिले समस्याहरू कम छन्। तर भावना, समर्पण, र सेवा—यी मूल्यहरू निरन्तर चाहिन्छ।”
भावुकता र आत्मियता: मानवता प्रधान
लक्ष्मी लामा गुरुङ आफ्नो कमलो हृदय र सहृदय व्यवहारका लागि चिनिन्छिन्। आफैं भन्छिन्, “मेरो आँसु तुरुन्त आइहाल्छ। कसैको पीडा देख्दा म त काँडाजस्तै पोलिन्छु। सघाउँछु, पछि हट्दिन।”
शायद यही भावनाले उनलाई समाजसेवामा अडिग राखेको हो। हजारौं बिरामी, पीडित, समस्यामा परेका दिदीबहिनी र दाजुभाइको साहारा बन्नु कुनै साधारण कार्य होइन। उनले जुनिमै कमाएको पुण्य, यति वर्षपछि बिदेशको भूमिमा फलदायी बनिरहेको छ।
अन्तिम निष्कर्ष: लक्ष्मी लामा गुरुङ — नारी शक्ति र विश्वसनीय नेतृत्वको मूर्त रूप
नेपाली डायस्पोरामा नारी नेतृत्वको प्रेरणा खोज्ने हो भने लक्ष्मी लामा गुरुङको नाम पहिलो पंक्तिमा आउँछ। कोरियामा ३० वर्षभन्दा लामो समयदेखि अनवरत सेवामा समर्पित उनी केवल एनआरएनए अध्यक्ष होइनन्, उनी एउटा ‘संस्था’ हुन्—जसको मूल्य, भावना र सन्देश नेपाली समुदायले सधैँ बोकिरहनेछ।
अबको पुस्ताले उनलाई केवल ‘लक्ष्मी दिदी’ भनेर सम्झने छैन, उनी सम्झिने छन्—एक यस्ता नारी, जसले बिदेशी भूमिमा समेत नेपाली चेलीहरूको आँखामा आँसु आउन नदिने संकल्प गरेकी थिइन्।
“लक्ष्मी लामा गुरुङ केवल नाम होइन, उनी इतिहास हुन् – महिला सशक्तिकरण, समाजसेवा र नेपाली नारीको गौरवको प्रतीक।”